१. नामाकरण र इतिहास
-
इन्द्रसरोवर ताल: राजा वीरेन्द्रले आफ्नी आमा (इन्द्रराज्य लक्ष्मीदेवी शाह) को सम्झनामा यसको नामाकरण गर्नुभएको मानिन्छ। बिक्रम सम्बत २०३३/०३४ बाट निर्माण सुरु भई २०३८ मा सम्पन्न भएको नेपालको एकमात्र मानवनिर्मित यो जलाशयलाई "श्री क्युविक ब्याट्री" पनि भनिन्छ।
-
विद्युत् उत्पादन: कुलेखानी प्रथम (६० MW), दोस्रो (३२ MW) र तेस्रो (१४ MW) गरी जम्मा १०६ मेघावाट विद्युत् उत्पादन गरेर देशलाई लोडसेडिङमुक्त बनाउन यसले मुख्य भूमिका खेलेको छ।
-
गाउँपालिकाको गठन: राज्य पुनर्संरचनाका क्रममा साविकका मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गाविसहरूलाई समेटेर यो गाउँपालिका बनेको हो।
२. वडाहरूको नामाकरण सम्बन्धी किंवदन्ती
-
मार्खु (वडा नं. १): तामाङ भाषामा 'मा-खु' (निङगालो टुशाको तरकारी) र 'म्हार-खु' (घिउ धेरै हालेको तरकारी/खाजा) बाट अपभ्रंश भई मार्खु बनेको।
-
कुलेखानी (वडा नं. २): विगतमा काठमाडौँ गाडी बोकेर लैजाने कुल्लीहरू, नुन-तेल बोक्ने भरियाहरूले खाजा खाने ठाउँ (कुल्लीले खाने ठाउँ) वा तामा, फलाम र किट खानीहरू धेरै भएकाले कुलेखानी नाम पर्न गएको।
-
सिस्नेरी (वडा नं. ३): अत्यधिक सिस्नुको घारी रहेकाले सिस्नेरी नामकरण भएको।
-
फाखेल (वडा नं. ४ र ५): भगवान राम सिकार खेल्दा बनेल (फाग) र कुकुर चौर (खेल) मा आइपुगेको र बिहान भएपछि शिलामा परिणत भएको किंवदन्ती अनुसार तामाङ भाषाको 'फाग-खेल' (बनेल चर्ने चौर) बाट फाखेल नाम रहेको।
३. भौगोलिक अवस्थिति र मुख्य आकर्षणहरू
-
क्षेत्रफल र उचाई: ९७.३२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो गाउँपालिका ५ वटा वडामा विभाजित छ। यसको उचाइ १२९२ मिटर (सिस्नेरी) देखि २५६१ मिटर (भालेश्वर/चन्द्रागिरीको शिर) सम्म छ।
-
यातायात: हेटौँडा र काठमाडौँ जोड्ने छोटा वैकल्पिक मार्गहरू (कुलेखानी-फाखेल-फर्पिङ, सिस्नेरी-फर्पिङ, चखेल-सतुङ्गल) यसै गाउँपालिका भएर जान्छन्।
-
पर्यटन तथा जीविकोपार्जन: इन्द्रसरोवर ताल, भ्युटावरहरू, गुफा तथा ऐतिहासिक गढी/मन्दिरहरू यहाँका मुख्य पर्यटकीय स्थल हुन्। स्थानीय बासिन्दाहरूको आम्दानीको मुख्य स्रोत बेमौसमी तरकारी खेती, अमिला जातका फलफूल, माछापालन र पशुपालन हो।